काठमाडौँ, २२ फागुन । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोक्ने गरेको पेस्तोल फेला परेको छ ।

दुर्घटनामै ज्यान गुएमाका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीका अंगरक्षक रहेका घिमिरेको पेस्तोल घटना भएको ८ दिनपछि तीन राउण्ड गोली पड्केको अवस्थामा घटनास्थलमै भेटिएको हो । सेना र प्रहरीको संयुक्त टोलीले हेलिकोप्टरको भग्नावशेषमुनि च्यापिएको अवस्थामा फेला पारेको पेस्तोल जलेको छ ।

दुर्घटनास्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीकाअनुसार हेलिकप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ ।

सेना र अस्थाई प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । पेस्तोललाई नेपाली सेनाले लिएर गएको छ ।

फागुन १५ गते ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकप्टर (एएस ३५०) दुर्घटना भएको थियो ।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक सेनामा जमदार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्यन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र क्याप्नेट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार