बुटवल ।  २५ बैशाख, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब संचालनको २ वर्षको अवधीमा एकहजार ५६ जनाले सेवा लिएका छन् । २0७४ साल बैशाखदेखि संचालन गरिएको क्याथल्याब बाट एन्जियोप्लाष्टि, एन्जियोग्राफी र पेसमेकर गरी एकहजार ५६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो । दुईवर्षको अवधिमा २ सय ७ जनाको एन्जियोप्लाष्टी, ७ सय ५ जनाको एन्जियोग्राफी, ३ जनाको आरएचसि, २५ जनाको पेरिकार्डियोसेन्टेसिस र १ सय १६ जनाको पेशमेकर राखि उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल संचालनको साढे पांचवर्ष र क्याथ ल्याब सेवा संचालनको दुईवर्षको अवधीमा अस्पतालले यसक्षेत्रका हजारौं मुटुका विरामीहरुको विश्वास जित्न सफल भएको बताए ।

उनले ५ नंं प्रदेशको राजधानी रुपन्देहीलाई स्वास्थ्यको केन्द्रको रुपमा स्थापित गर्न अस्पतालले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । उनले मुटुसंगै मृगौलाको समेत उपचार संचालन गरेको अस्पतालले छिट्टै नै थप तिनवटा जिल्लामा मृगौलाको डायलाईसिस युनिट संचालन गर्ने तयारीमा रहेको जानकारी दिए ।
हाल बुटवल रामनगरमा २० वटा डायलाईसिस मेसिनबाट सेवा प्रदान भईरहेकोमा दाङ, पाल्पा र स्याङजाको वालिङबाट पनि १0÷१0 वटा मेसिनबाट डायलाईसिस सेवा संचालन हुने तयारीमा रहेको छ ।

ती क्षेत्रमा डायलाईसिस युनिट संचालन पछि त्यसक्षेत्रका विरामीहरुलाई निशुल्क डायलाईसिस सेवा लिन हजारौं रकम खर्च गरी र घण्टौंको यात्रा गरी बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।विपन्न वर्गका नागरिकलाई मुटु तथा मृगौलाको उपचारमा नेपाल सरकारले दिने सहुलियतको लागि सूचिकृत भई सेवा दिईरहेकोमा यसैवर्ष देखि नेपाल सरकारले शुरु गरेको स्वास्थ्य विमा कार्यक्रम र वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परिक्षणको लागि पनि अस्पताललाई सूचिकृत गर्ने प्रकृयामा रहेको अध्यक्ष आलमले जानकारी दिए ।
अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले क्याथल्याब संचालन भएको दुईवर्ष पुरा भएपनि पूर्ण नभएको बताए ।

उनले केहि उपकरण थप गर्न सके मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्ने जस्ता सेवाहरु थप गर्न सकिने बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मुरारी बाराकोटीले समय परिवर्तन संगै स्वास्थ्य विज्ञानमा पनि नयांनयां प्रयोगहरु हुने गरेको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि त्यस्ता सेवाहरु प्रदान गरिने बताए । २0७0 पौष १0 गते ९ बेडको सि.सि.यू. सहित २४ बेडबाट संचालनमा आएको अस्पतालमा हालसम्म झण्डै दुईलाख विरामीले उपचार सेवा लिएका छन् । त्यस्तै ३ सय जना बिरामीको नियमीत डायलाइसिस सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । कार्यक्रममा संस्थाका सचिव दिनेशराज रेग्मी र रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार