(दोहा) कतार । पाल्पाली सेवा समाज दोहा कतारले गर्न लागेको छैटौ साधारण सभा साँस्कृतिक तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको छ । हिजो मंगलबारबाट यहाँ जिल्ला भलिवल खेल प्रतियोगिता सुरु भएको छ । जिल्ला स्तरीय भलिवल प्रतियोगितामा नेपालका बिभिन्न जिल्लाबाट कतारमा रहेका खेलाडीहरु बीच प्रतिस्पर्धा गराइनेछ ।
हिजो कतारको समय अनुसार राति १० बजेबाट सनैया (५२)मा भएको जिल्ला स्तरीय भलिवल खेलको समुदघाटन समाजसेवी सागर नेपालले गरे । सो अवसरमा बोल्दै उनले यो खेलले नेपालीहरु बीच सहिष्णुता कायम राख्न टेवा पुरयाउने बिश्वास ब्यक्त गरे ।
बिशिष्ट अतिथि एनआइएन ए आइसिसि मानार्थ सदस्य बिल गुरुंग आइसिसि सदस्य बिमल सुवेदी,बुद्धिजीवि क्रान्ति सिंह, समाजसेवी माया केसी, बिभिन्न जिल्लाका प्रतिनिधि ज्युहरु, एआरए एनसिसि महासचिव बुधवल गुरुंग लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।
समाजका अध्यक्ष इश्वर काफ्लेको अध्यक्षतामा कार्यक्रम चलेको थियो । प्रतियोगितामा २० वटा समूहको सहभागिता रहेको छ । हिजो भएको उद्घाटन खेलमा स्यांगजा सि र गुल्मीको खेलमा गुल्मीले स्यांगजालाई पराजित गर्यो । सोही ठाउँमा आज अन्य खेल हुदैछन् ।
जुन ७ शुक्रवारका दिन दोहा स्थित डल्ला ड्राइभिङ एकेडेमीमा कतारको समय अनुसार बिहान ११ः३० बजेबाट सुरु हुने विविध सांगीतिक कार्यक्रममा नेपालबाट ख्यातीप्राप्त कला¬¬कारहरुको उपस्थिति रहने छ । कार्यक्रममा बरिष्ठ कलाकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, रोइला गायक शिरिष देबकोटा, लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, लोक तथा दोहोरी गायक बिक्रम परियार र नृत्यंगना सपना ढेंगा मगरसहित कतारमा रहेका अन्य स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष ईश्वर काफ्लेले बताए । कलाकार टोली नेपालबाट आज दोहा आउदैछन । कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने भएकाले पनि समाजले यसप्रकारका कार्यक्रमलाई जोड दिंदै आएको अध्यक्ष काफ्लेले जानकारी गराए ।
पाल्पाली सेवा समाजले पाल्पा जिल्लाका हरेक दुख सुखमा साथ दिदै आएको छ । यो समाजले हालैको वर्षमा मात्रै जिल्लामा आधा दर्जन विद्यालयका गरिब तथा विपन्न परिवारका करिव २ सय ५० विद्यार्थीलाई निःशुल्क झोला बितरण गर्नुका साथै दमकडा माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको अक्ष्यकोषको समेत स्थापना गरेको छ ।
संस्थाले ७ जुन शुक्रबार हुने कार्यक्रम निशुल्क रहेको र कतारमा रहेका सम्पूर्ण नेपाली कला संस्कृतिलाई माया गर्ने सम्पूर्णलाई कार्यक्रममा उपस्थिती भइदिनको लागि अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार